


काठमाडौं,२ पुस । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनकुटा पाख्रिपास नगरपालिका ९ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-११ कपनका ५० वर्षीय राजकुमार तामाङ लामा रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरमा २०७५ सालमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा फरार रहेका लामालाई कपनस्थित घरबाटै पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं एसएसपी शिवकुमार श्रेष्ठले बताए। लामालाई आवश्यक कारवाहीका लागि पाँचथरमा पठाइएको छ।
उनका अनुसार लामा १५ फागुन २०६८ मा काठमाडौं महानगरपालिका ११‚ बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम बिस्फोट गराएको घटनामा १२ असार २०६९ मा पक्राउ परेका थिए। उक्त बिस्फोटमा मानबहादुर तामाङसहित तीनजनाको मृत्यु भएको थियो। घटनामा सोमबहादुर तामाङ घाइते भएका थिए।
लामाविरुद्ध त्यतिबेला कर्तव्य ज्यानमुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा लामा नख्खु कारागार चलान भएका थिए। तर, लामालाई ७ फागुन २०७६ को प्रजातन्त्र दिवसमा सरकारले थुनामुक्त गरेको थियो।
साम्पाङले गत असोज मा पार्टी गठन गर्दा उपाध्यक्ष लामा बनेका थिए। उक्त पार्टी १६ कात्तिक २०८२ मा निर्वाचन आयोगमा दर्ता भएको थियो।
साम्पाङले राज्यको अनुसन्धानलाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै उपाध्यक्ष लामालाई अनुसन्धान नटुंगिएसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको घोषणा गरेका छन्।

