


हृदयराम गुप्ता
मर्चवार,३ पुस । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. १ मा प्रथम वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । युवाहरुमा लुकेका खेल प्रतिभालाई प्रष्टफुटन हुने समेतको उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ।

पुस ६ गते सम्म आयोजना गरिएको प्रतियोगितामा वडा नं. १ का १४ टोलीबीच १२ ओभरको खेल हुने वडाध्यक्ष राजेश गुप्ताले जानकारी दिए। युवाहरुमा लुकेका प्रतिभा, चाहना र मनोभावनालाई आत्मसात गर्दै क्रिकेटले स्वास्थ्य, सहकार्य र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउनेसमेत विश्वासकासाथ वडाध्यक्ष कप आयोजना गरिएको उनले बताए।
आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीलाई ३५ हजार रुपैयाँ, सिल्ड, प्रमाणपत्र तथा उपविजेतालाई २२ हजार रुपैयाँ, सिल्ड, प्रमाणपत्र प्रदान गरिने छ । साथै प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ५ सय रुपैयाँ नगद पुरस्कार उपलब्ध गराइने छ।
प्रतियोगिताको उद्घाटन गर्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले मानव जीवनमा खेलकुद र पोषण जन्मदेखि जीवनकालसम्म अत्यावश्यक हुने बताए । उनले भने, “हातखुट्टा चले मात्र मानिस स्वस्थ मानिन्छ । जुनसुकै युग र व्यवस्था आए पनि खेलकुद मानव जीवनको अपरिहार्य अंग हो । खेल फरक हुन सक्छन्, तर जीवनमा खेलकुदको योगदान सधैं आवश्यक रहन्छ ।”
पहिले चिक्का, कबड्डी, बैजल्ला, डुडुवा जस्ता खेल लोकप्रिय रहे पनि अहिले क्रिकेट सबैभन्दा लोकप्रिय बनेको उल्लेख गर्दै अध्यक्ष त्रिपाठीले युवाको चासो र मागअनुसार क्रिकेट विश्वव्यापी रुपमा फैलिएको बताए । खेलले मनोरञ्जनसँगै शारीरिक व्यायाम गराई युवामा एकता, स्वास्थ्य र लुकेका प्रतिभा समेत प्रष्टफुटन हुने अवसर रहेको उनको भनाई छ।
‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने नारासहित सुरु भएको प्रतियोगितामा बोल्दै कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले क्रिकेटमार्फत मर्चवार क्षेत्रले उच्च प्रदर्शन गर्नुपर्ने आवश्यकता औल्याए।
युवाभित्र लुकेर रहेको खेलकुद प्रतिभालाई उजागर गरी मर्चवारको पहिचान स्थापित गर्न र देशको नाम चम्काउने उद्देश्यले वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको उनले बताए । मर्चवारका हरेक वडा र पालिकामा यस्ता क्रिकेट प्रतियोगिता हुनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा प्रकोप व्यवस्थापन सञ्जालका राष्ट्रिय अध्यक्ष जगरनाथ प्रसाद कुर्मी, कोटहीमाई गाउँपालिकाका कम्प्यूटर अपरेटर सनोज चौधरीलगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख अजय सिंह क्षेत्रीले गरेका थिए ।

