
भैरहवा, ३ पुस। लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण बढ्दै गएको छ। बौद्ध दर्शन तथा सो सम्बन्धित विषयहरु अध्ययनका लागि विदेशी विद्यार्थीको संख्या बढ्दै गएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले लुम्बिनीमा बौद्ध दर्शन केन्द्रीत र बुटवल तथा देवदहमा प्रयोगिक बौद्ध अन्तर्गतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहमा विदेशी विद्यार्थीहरु भर्ना भएका छन्।
Advertisement

Advertisement
Advertisement

विश्वविद्यालयमा चीन, भारत, श्रीलंका, भुटान, म्यानमार, जापान, मलेसिया लगायतका देशका विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । सबैभन्दा धेरै चीनका विद्यार्थीहरु छन्। बुद्धिजम एण्ड नेपाल स्टडिज, बुद्धिजम एण्ड पीस, बुद्धिजम एण्ड हिमालयसहितका विषयमा विदेशी विद्यार्थीको आकर्षण देखिएको हो।
लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले विद्यावारिधिदेखि स्नातक तहसम्मै विदेशी विद्यार्थीहरु भर्ना भएको बताए। ‘विदेशीमा विद्यार्थीले हाम्रो विश्वविद्यालयलाई विश्वास गरेका छन, हामी गुणस्तरीय शिक्षा प्रदानमा प्रतिवद्ध रहेका छौं,’ उनले भने।
विश्वविद्यालयमा हाल १ सय ५७ जना विदेशी विद्यार्थी अध्ययनरत छन् । नयाँ भइरहेको स्नातक र स्नातकोत्तर तहको भर्नामा पनि विदेशी विद्यार्थीहरुले आवेदन दिएका छन्। विश्वविद्यालयमा कुल ३ हजार विद्यार्थी अध्ययन गर्दै आइरहेका छन् ।
लुम्बिनी बौद्धको प्रमाणपत्र चीनको सरकारद्वारा मान्यता
लुम्बिनी बौद्ध विश्वविद्यालयको सर्टिफिकेट चीनको शिक्षा मन्त्रालयले मान्यता दिने निर्णय गरेको छ। चीनको शिक्षा मन्त्रालय अन्तर्गतको स्कलर्स आदानप्रदान सेवा केन्द्रले विद्यार्थीले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट प्राप्त गरेको उपाधिलाई मान्यता दिने भन्दै सूचीकृत गरेको छ।
स्कूल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाईड साइन्सका निर्देशक डा. कुमार खड्काले चीनमा विश्वविद्यालयको उपाधिले मान्यता पाउने निर्णयले विदेशी विद्यार्थीको संख्या बढ्दै जाने बताए। ‘चिनियाँ विद्यार्थीहरु प्रमाणपत्रले मान्यता पाउछ कि पाउँदैन भन्नेमा चिन्तित थिए, अब त्यो समस्या समाधान भएको छ,’उनले भने ।
विश्वविद्यालयले देवदहमा शैक्षिक गुरुयोजना कार्यान्वयन गरी १६ हजार विदेशी विद्यार्थी अध्यापन गराउने लक्ष्य राखेको छ। उक्त योजना कार्यान्वयनको चरणमा रहेको विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयले विदेशी विद्यार्थीको सहजताका लागि छात्रावास समेत निर्माण गरिरहेको छ। उक्त पूर्वाधारपछि अझ धेरै विद्यार्थी बढ्ने अपेक्षा गरिएको छ।
विश्वविद्यालयले सम्बन्ध विस्तारका लागि झण्डै ८० अन्तर्राष्ट्रिय संस्थाहरुस्रग सहकार्य गरेको छ। सोही सहकार्य अन्तर्गत लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु सेमेष्टर एक्सचेन्ज अन्तर्गत चीनका केही विद्यालयमा अध्ययनका लागि पुगेका छन्। ६४ जना विद्यार्थीले एक्सचेन्ज कार्यक्रम सकेर उपाधि हात पारेका छन्। केही समयअघि मात्रै ४८ जना विद्यार्थीहरुले चीनका विश्वविद्यालयमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति हासिल गरेका थिए।

