


काठमाडौं, ३ पुस। नेकपा एमालेको ११ औं महाधिवेशनबाट निवर्तमान सात पदाधिकारीहरु बाहिरिएका छन् ।
दशौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा चुनिएका ईश्वर पोखरेल एघारौं महाधिवेशनमा पदाधिकारीबाट बाहिरिएका हुन् । उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए।

अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका पोखरेल अधिक मतान्तरले पराजित भएका छन्।
चुनाव नलड्ने घोषणा गरेर उम्मेदवारी नै नदिएका निवर्तमान उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य पनि पदाधिकारीबाट बाहिरिएका छन्।
यस्तै उपाध्यक्षहरु सुरेन्द्र पाण्डे र गुरुप्रसाद बराल पनि एघारौं महाधिवेशनबाट पदाधिकारीबाट बाहिरिएका छन्। यसअघि उपाध्यक्ष रहेका पाण्डे महासचिवमा शंकर पोखरेलसँग पराजित भएका हुन्। त्यस्तै गुरुप्रसाद बराल उपाध्यक्षमै पराजित भएका छन्।
उपमहासचिव रहेका विष्णु रिमाल दोहरिन खोज्दा पराजित भए। केन्द्रीय सदस्यमा मात्र उठेका निवर्तमान उपमहासचिव प्रदीप ज्ञवाली पनि पदाधिकारीबाट बाहिरिएका छन् ।

