


भैरहवा,४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालत बुटवल तुलसीपुर इजालसको आदेशपश्चात शुक्रवार जिल्ला अदालत रुपन्देहीमा आवश्यक प्रक्रिया पुरा गरेपछि उनी थुनामुक्त भएका हुन् ।

आदेशमा भएका सर्तहरुका लागि उपस्थित भएर आवश्यक कागजी प्रक्रिया र बैंक जमानतको पुष्ट्याईँ भएपछि लामिछाने थुनामुक्त भएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए ।
उनका अनुसार लामिछाने उच्चको आदेश अनुसार ०८१ मघ १३ गते थुनछेकको क्रममा माग गरेको एक करोड धरौटी (बैंक जमानत) र निवेदन साथ बिगोको हकमा पेश गरेको २ करोड ७४ लाख ८४ हजारको बैंक जमानत बुझिएको छ ।
भैरहवाको खराब मौसमका कारण काठमाडौंबाट विमानमा ल्याउन ढिलाई भएपछि काठमाडौंबाट भरतपुरसम्म विमानमा र त्यसपछि गाडीमार्फत उनलाई अदालतमा उपस्थित गराइएको थियो ।

