


काठमाडौं,६ पुस। प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई घन्टा बढी भएको भेटवार्तामा समसामयिक राजनीतिक र निर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।

रास्वपा नेतृ सोविता गौतमका अनुसार रास्वपाले निर्धारित मितिमै प्रतिनिधि सभा निर्वाचन गराउन सरकारसँग माग गरेको थियो। जेनजी आन्दोलनले नयाँ जनादेश खोजेको बताउँदै रास्वपाले कुनै पनि हालतमा चुनावको निर्धारित मिति सार्न नहुने अडान लिएको थियो।
त्यस्तै बैठकमा जेनजीसँग भएको सम्झौता कार्यान्वयन, जेनजीहरुले उठाउँदै आएका मागहरु सम्बोधन गर्ने विषयमा पनि छलफल भएको उनले बताइन्।
निर्वाचनमा उम्मेदवार बन्न अहिले २५ वर्ष पुग्नुपर्ने र जेनजी युवाहरुले त्यसलाई सच्याउनुपर्ने मागका सम्बन्धमा पनि आफूहरुले कुरा उठाएको उनले बताइन्। निर्वाचनमा उम्मेदवार बन्न २१ वा १८ वर्ष पनि कायम गर्ने सकिने आफूहरुले बताएको उनको भनाइ छ।
त्यस्तै सरकारका प्रवक्ता जगदिश खरेलले रास्वपाका सभापति लामिछानेसहितका पदाधिकारीसँग निर्वाचनका विषयमा छलफल भएको बताए।
उनले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार सक्षम रहेको र निर्वाचनको तयारीका विषयमा पनि जानकारी गराएको बताए।

