


काठमाडौं,२१ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय भ्रष्टाचार सम्बन्धि मुद्दाको अनुसन्धानमा तिव्रता दिएको छ । जससँगै विशेष अदालतमा पनि मुद्दा दायर हुने क्रम बढेको छ ।
जेनजी आन्दोलन पश्चात पालिकामा हुने अनियमिततामा समेत निगरानी बढाउँदै आयोगले पछिल्लो समयमा विभिन्न पालिकामा कार्यरत ११ जना प्रमुख प्रशासकीय अधिकृतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, पर्वतको कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङ, रौतहटको माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
त्यस्तै जाजरकोटको भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, रौतहटको कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीविरुद्ध पनि मुद्दा दायर भएको छ ।
यस्तै कालिकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
उनीहरुमाथी बजेट कार्यान्वयन, सार्वजनिक खरिद प्रक्रिया, सेवा प्रवाह तथा प्रशासनिक निर्णयमा अनियमितता गरेको आरोप छ।

