


हृदयराम गुप्ता
मर्चवार,२३ पुस । रुपन्देहीको कोटहीमाई गाउँपालिका विकास निर्माण, सामाजिक सेवा, प्रशासनिक सुधार तथा सुशासनतर्फ लम्किँदै गएको छ । गाउँपालिका कार्यालयले गत आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादनको समिक्षा गर्दै पालिका प्रगतितर्फ लम्किएको तथ्यांक प्रस्तुत गरेको छ ।
भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा, सूचना प्रविधि र आर्थिक प्रशासनसम्म फैलिएका कार्यक्रमहरुले पालिकाको समग्र विकास यात्रा प्रगतितर्फ रहेको सरोकारावालाहरुको भनाई छ ।

गाउँपालिका कार्यालयको योजना शाखाका प्रमुख फडेन्द्र प्रसाद बगालेका अनुसार गत आर्थिक वर्षमा ३ सय ७० वटा योजना तथा कार्यक्रम मध्ये ३ सय ५५ वटा सम्पन्न भएका छन् । उक्त अवधिमा वडा स्तरबाट १ सय ४ वटा योजना तथा १ सय ६ वटा कार्यक्रम र पालिका स्तरबाट ४५ वटा योजना तथा १ सय वटा कार्यक्रम सम्पन्न भएका छन् ।
भौतिक संरचनाको विस्तृत प्रतिवेदन प्रस्तुत गर्दै पालिकाका इन्जिनियर नवराज भण्डारीले आर्थिक वर्ष २०८१/०८२ मा पालिकाले १४.२ किलोमिटर ग्राभेल सडक, ३.९५ किलोमिटर पीसीसी सडक र २.४५ किलोमिटर नाला निर्माण भएको बताए । यससँगै २ सय २४ थान बोरिङ, २ सय ६० वटा ह्याण्डपम्प जडान गरिएको छ । धार्मिक तथा शैक्षिक संरचनातर्फ १७ वटा मठमन्दिर मर्मत, ३७ वटा विद्यालय मर्मत तथा ३ सय ६३ मिटर कम्पाउण्ड वाल निर्माण गरिएको छ।
पालिका मातहतका ७ वटा वडा कार्यालय र ७ वटा स्वास्थ्य चौकीको भौतिक संरचना, १ आयुर्वेद औषधालय र पालिका कार्यालयबाट ८९ जना कर्मचारीमार्फत विभिन्न सेवा प्रवाह भइरहेको प्रशासन शाखा प्रमुख हंसराज थारुले जनाए ।
शिक्षा शाखाबाट सहायक शिक्षा अधिकृत मनोहर चौधरीका अनुसार पालिकाभित्र १४ वटा सामुदायिक विद्यालय, १३ वटा निजी विद्यालय, ८ वटा धार्मिक विद्यालय, २ वटा सिकाइ केन्द्र र १ वटा सामुदायिक क्याम्पस सञ्चालनमा छन्।पालिकाबाट तलब सुविधा प्राप्त गर्ने प्राथमिक तहमा ९५, निम्न माध्यमिक तहमा ३४ र माध्यमिक तहमा २७ गरी कुल १ सय ५६ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् ।
स्वास्थ्य क्षेत्रमा ४४ हजार ६ सय ३२ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको स्वास्थ्य शाखाका सि.अ.हे.व. अंकित शर्माले जानकारी दिए। ६ वटा स्वास्थ्य चौकी र १ वटा आधारभूत स्वास्थ्य केन्द्रमार्फत सेवा प्रदान गरिदै आएको उनले जनाए । यससंगै पालिका भित्र ७ वटा गाउँघर क्लिनिक, ७ वटा खोप केन्द्र र एउटा प्रसुती केन्द्र संचालन रहेको छ।
पालिकाभित्र एक मात्र रहेको आयुर्वेद औषधालयबाट १० हजार ७ सय ४० जनालाई सेवा प्रदान गरिएको आयुर्वेद शाखा प्रमुख रेखा शुक्लाले जानकारी दिए । उनका अनुसार ७ हजार ४ सय ८९ जनालाई बहिरङ्ग सेवा, १ हजार ६ सय २५ जनालाई ज्येष्ठ नागरिक सेवा, ४ सय ५९ जनालाई स्तनपायी सेवा र १ हजार १ सय ६७ जनालाई पञ्चकर्म सेवा प्रदान गरिएको छ । यसैगरी नागरिक आरोग्य कार्यक्रमबाट १ सय ११ जना र विद्यालय आयुर्वेद तथा योग कार्यक्रममार्फत २ सय ७३ जनालाई सेवा प्रदान गरिएको छ ।
रोजगार सेवा शाखाबाट प्रदान गरिएका सेवाबाट ३५ जनाले १ हजार ९ सय ६२ दिन रोजगारी पाएका छन् । कोटहीमाई रोजगार सेवा केन्द्रका संयोजक कृष्ण यादवका अनुसार पालिकाका विभिन्न वडामा ९ वटा आयोजना सम्पन्न भएका छन् । सोही शाखाबाट श्रम स्वीकृति, वैदेशिक रोजगार परामर्श सेवा, शव ढुवानी, उद्धार तथा खोजतलास, बिरामी तथा अंगभंग तथा क्षतिपूर्ति दिलाउने जस्ता सेवामार्फत ६५ जनालाई सेवा प्रदान गरिएको छ ।
योग्यता पुगेका पालिकाभित्रका ३ हजार ९ सय ४७ जनालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख जयसागर यादवले बताए । सामाजिक सुरक्षा भत्ता प्रत्येक आर्थिक वर्षमा ४ किस्तामा ४ वटा बैंकमार्फत वितरण हुँदै आएको उनले बताए । उनका अनुसार सामाजिक सुरक्षा भत्ता पाउनेमध्ये गत आर्थिक वर्षमा १ सय ४५ जनाको मृत्यु भएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शिवदास गुप्ताले पालिकाभित्रका ३९ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको बताए । जसमध्ये १ जनालाई रातो कार्ड, १८ जनालाई निलो कार्ड, १ जनालाई पहेँलो कार्ड र १ जनालाई सेतो कार्ड वितरण गरिएको छ। उक्त शाखाबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित समस्याको समाधान तथा आवश्यक सहयोग प्रदान हुँदै आएको उनले बताए।
कृषि शाखाका प्रमुख जितेन्द्र आर्यका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा फलफुल विरुवा वितरण, च्याउ खेती प्रबर्धनको लागि बीउ वितरण, हरियो मल प्रबर्धन, बेमौसमी तरकारी खेती किट वितरण, माटो सुधारको लागि पोषक तत्व वितरण, विषदी वितरण, रोग तथा किरा रोग नियन्त्रण तथा आर्गेनिक खेती कार्यक्रम सम्बन्धी विभिन्न कार्यक्रम संचालन गरिएको छ। विभिन्न कार्यक्रम मार्फत १३ हजार २ सय ७२ किसान परिवार प्रत्यक्ष लभांवित भएको उनले बताए ।
त्यस्तै पालिकाभित्रका ६ हजार ५ सय ५५ पशुचौपायालाई उपचार सेवा प्रदान गरिएको पशु सेवा शाखा प्रमुख जयप्रकाश यादवले जानकारी दिए । विभिन्न रोग परीक्षणका लागि १ सय १५ जनाको गोबर परीक्षण, १० जनाको पोस्टमार्टम, ६ सय ५० बोकालाई खसी बनाइएको छ । यसैगरी २ सय रेबिज, ५ हजार खोरेत र ८ हजार पी.पी.आर. खोप लगाइएको जानकारी दिए ।
कोटहीमाई गाउँपालिका नापी शाखाबाट विभिन्न २० वटा जग्गा विवाद समाधान गरिएको नापी तथा नक्सा इकाई प्रमुख रघुनन्दन यादवले जानकारी दिए। सडक निर्माणका क्रममा उत्पन्न जग्गा क्षेत्रसम्बन्धी विवाद पालिकाको सक्रियतामा समाधान गरिएको उनले बताए ।
सामाजिक विकास शाखाबाट लक्षित तथा विषयगत कार्यक्रम सञ्चालन हुँदै आएको शाखा प्रमुख अजय सिंह क्षेत्रीले जानकारी दिए। सामुदायिक प्रहरी साझेदारी, लैङ्गिक हिंसाविरुद्ध, खानेपानी तथा सरसफाइसम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
सूचना प्रविधि शाखाबाट पालिकालाई सूचनामैत्री तथा सुशासनमुखी बनाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख राजन चौसिरयाले बताए। । सूचना अधिकारीको जिम्मेवारीसमेत निर्वाह गर्दै आएको उनका अनुसार उक्त शाखाबाट गत आर्थिक वर्षमा परेका ९ वटा सूचना हकसम्बन्धी निवेदनमा सबै सूचना उपलब्ध गराइएको छ ।
गत आर्थिक वर्षमा पालिकाबाट ६८ लाख ४० हजार २ सय ४८ रुपैयाँ राजस्व सङ्कलन भएको राजस्व शाखा प्रमुख सरिता केसीले जानकारी दिए । सिफारिस दस्तुर, व्यक्तिगत घटना दर्ता दस्तुर, नाता प्रमाणित, व्यवसाय कर, विद्युतसम्बन्धी कर, प्रशासनिक दण्ड जरिवाना तथा जफत, सम्पत्ति कर, घर बहाललगायत विभिन्न २२ शीर्षकबाट राजस्व सङ्कलन गरिएको हो ।
आर्थिक प्रशासन शाखाबाट ५ हजार ६९ व्यक्ति तथा संस्थालाई सेवा प्रदान गरिएको आर्थिक प्रशासन शाखा प्रमुख निरञ्जन ज्ञवालीले जानकारी दिए। गत आर्थिक वर्ष २०८१/०८२ का लागि स्वीकृत ४८ करोड ५९ लाख २५ हजार रुपैयाँ बजेट मध्ये ४१ करोड २५ लाख ३५ हजार ९ सय २१ रुपैयाँ प्राप्त भएको छ । चालु तर्फ २७ करोड ५८ लाख ७४ हजार ८ सय ३२ रुपैयाँ र पुँजीगत तर्फ ९ करोड ५५ लाख ९९ हजार ३ सय ७७ रुपैयाँ खर्च भएको छ ।
वडागत रुपमा प्रत्येक वडामा १ करोड १५ लाखका दरले विनियोजन गरिएको बजेटमध्ये वडा नं. १ ले ९६.०३, वडा नं. २ ले ८४.२४, वडा नं. ३ ले ९५.०९, वडा नं. ४ ले ९६.७३, वडा नं. ५ ले ८७.४०, वडा नं. ६ ले ९४.४३ र वडा नं. ७ ले ९५.१६ प्रतिशत बजेट खर्च गरेका छन् ।
यसैगरी आर्थिक विकासतर्फ विनियोजित २ करोड ५३ लाख ९ हजारबाट ६९.३७ प्रतिशत, सामाजिक विकास तर्फ विनियोजित २१ करोड ७० लाख १९ हजारबाट ७८.६४ प्रतिशत, पूर्वाधार विकास तर्फ विनियोजित ९ करोड ९४ लाख ८५ हजारबाट ६३.२० प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ विनियोजित २ करोड २ लाख ६२ हजार ९ सय ९९ रुपैयाँबाट ६९.३९ प्रतिशत तथा कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ विनियोजित ११ करोड ४८ लाख ४९ हजारबाट ९२.५७ प्रतिशत बजेट खर्च भएको गाउँपालिका कार्यालयले जनाएको छ ।

