
काठमाडौं,२६ पुस। पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको बताएका छन्। पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले आफूहरु नारायणहिटीबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले संकटको सामना गर्नुपरिरहेको बताए।
‘नारायणहिटीबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गरिरहेको संकटले चिन्तित बनाएको छ। हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ,’ भिडियो सन्देशमा उनले भनेका छन्।
Advertisement

Advertisement
Advertisement

उनले देशबाट पलायनको सिलसिला जारी रहेकाले चिन्ता व्यक्त गरेका थिए। युवाहरुको पलायन तत्काल रोक्न नसकिए मुलुक असफलताको संघारमा पुग्ने उनको भनाइ छ। ‘जबसम्म युवा पुस्ताको चाहना सम्बोधन गरिँदैन। त्यसले असन्तोष पैसा हुन्छ। जसले विद्रोहको रुप पनि लिन सक्छ भन्ने नेतृत्वले बुझ्नैपर्छ,’ उनले भने।
नेतृत्वले पटक-पटक युवालाई प्रयोग गरे पनि उनीहरुको आवश्यकता बुझेर काम नगर्ने प्रवृत्तिले देशमा जनधनको हानी भएको उनले बताए।
‘भाषण अनि जादू, चमत्कारले यो देश बनेको हैन । र बन्दैन पनि । सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन । सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नुपर्छ भन्ने हाम्रो धारणा र आह्वान छ,’ पूर्वराजा शाहले भनेका छन् ।
उनले थप भनेका छन्, ‘झण्डै दुई दशकअघि शान्ति ल्याउँछौं र आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौं र स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरूको चाहना अनुसार, हामीले श्रीपेच जनताको नासो जनताकै सुरक्षित संरक्षित निकायमा बुझाइ सहयोगी नियतका साथ राजकाजबाट बाहिरै रहेको सर्वविदितै छ ।’

