
काठमाडौं,२८ पुस। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता निकासा गरी अनियमितता गरेको आरोपमा वडाध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सोमबार विशेष अदालत काठमाडौंमा दोलखा मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष ईश्वर कोइराला, तत्कालिन वडा सचिव विजय उप्रेती र कार्यालय सहायक दलबहादुर थापाविरुद्ध सामाजिक सुरक्षा भत्ता बापतको रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

आयोगका अनुसार वडाअध्यक्ष कोइरालासहित तीनैजनाविरुद्ध मूत्यु भइसकेका व्यक्तिको किर्ते सहीछाप गरी सामाजिक सुरक्षा भत्ता वाफतको रकम निकाली हिनामिना गरेको उजुरी परेको थियो।
सोही उजुरीका आधारमा अनुसन्धान हुँदा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा मृत्यु भइसकेका १४ जना लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता वितरण भरपाइको सक्कल कागजातमा लाभग्राहीको दस्तखत हुने खण्डमा वडाअध्यक्ष कोइरालाले बदनीयतपूर्वक आफ्नो दायाँ बायाँ हातको बुढी औंलाको छाप लगाइ ८ हजार रुपैयाँ भुक्तानी लिएको खुल्न आएको अख्तियारको ठहर छ।
यस्तै कार्यालय सहायक थापाले सामाजिक सुरक्षा भत्ता वितरण भरपाइसहित १० जना लाभग्राहीको हस्ताक्षरको महलमा आफ्नो दायाँबायाँ हातको माझी औंलाको छाप लगाइ १ लाख रुपैयाँ भुक्तानी लिएको पाइएको अख्तियारको दावी छ।
कार्यालयका तत्कालीन वडा सचिव उप्रेतीले पनि सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा लाभग्राहीको हस्ताक्षरको महलमा आफ्नो दायाँबायाँ हातको बुढी औंलाको छाप लगाइ ६४ हजार रकम भुक्तानी लिएको खुलेको अख्तियारले जनाएको छ।
सामाजिक सुरक्षा भत्ता वितरणमा किर्ते छाप लगाइ सरकारी भरपाइ अभिलेखमा मृत्यु भइसकेका तर अभिलेखमा लगत कट्टा नभएका लाभग्राहीहरुको हस्ताक्षरको महलमा बदनियतपूर्वक आफ्नो विभिन्न औंलाको औंठाछाप लगाइ लाभग्राहीहरुले पाउने रकम आफै भुक्तानी लिइ गैरकानुनी तरिकाले सरकारी कागजात सच्याउने, केरमेट गर्ने, थपघट गर्ने, हेरफेर गरी सार्वजनिक सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।

