
स्याङ्जा,२९ पुस। स्याङ्जा प्रहरीले भरुवा बन्दुक, बारुद लगायतका सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरुवा गाउँपालिका–६ लेवाका ७२ वर्षीय रामबहादुर सुनार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सुनारको घर खानतलासीका क्रममा भरुवा बन्दुकको मर्मत कार्य भइरहेको अवस्थामा बन्दुकसहित सामग्री बरामद भएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले बताए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार एउटा एकनाले भरुवा बन्दुक, दुई वटा नाल भएको तर पाट पुर्जा जडान नभएको भरुवा बन्दुक र एउटा नाल नभएको पाटपुर्जा जडान नभएको भरुवा बन्दुक बरामद भएको छ । त्यस्तै फलामे रड चार वटा, भरुवा बन्दुकको छुच्ची छ वटा, बारुद १४२ ग्राम, सिसाका छर्रा १०७ वटा, केप छ वटा र बारुद बनाउन प्रयोग हुने सोडा एक किलो बरामद भएको छ ।
भरुवा बन्दुक बनाउन प्रयोग हुने फलामको घोडा तीन वटा, चिम्टी दुई वटा, फलामको किला चार वटा र फलामको चाप एउटा रहेको बताइएको छ। उक्त सामाग्री सहित सुनारलाई पक्राउ गरी हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

