


भैरहवा, ३० पुस । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न लागेको विमानको आपतकालीन ढोका खोल्ने यात्रुले सोधपुछको क्रममा अन्जानमा ढोका खोलिएको बताएका छन् ।
बुधवार भैरहवाबाट काठमाडौंका लागि उडान भर्न लागेको बुद्ध एयरको उडान नम्बर ८५२ (कल साइन ९ एन–एएमडी) विमानमा सवार गुल्मीको चन्द्रकोट गाउँपालिका–४ का सुमन गौतमले आपतकालीन ढोका खोलेपछि उडान रोकिन पुगेको थियो । ढोका खोल्न यात्रुलाई प्रहरीको जिम्मा लगाइएको थियो ।

‘नियन्त्रणमा लिइएको यात्रुले ढोकाको ह्याण्डल चलाउँदा अन्जानमा आपतकालीन ढोका खुल्न पुगेको सोधपुछको क्रममा बताएका छन्’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले भने, ‘नियन्त्रणमा रहेका यात्रु उपर कारवाहीको विषयमा छलफल भइरहेको छ ।’
उडान भर्न लागेको बेला गौतमले विमानको आपतकालीन ढोका खोलेका थिए । नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध हो ।

