


काठमाडौं, ११ माघ । महालेखा नियन्त्रक कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले सरकारी रकम नबुझाउने ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरण अनुसार, सरकारलाई रकम नबुझाउनेमा भैरहवामा समेत क्यासिनो रहेको ह्यापी आवर प्रालिका संचालक सुरेन्द्र बहादुर सिंह, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, दि फूलबारी लिमिटेड पोखराका पियुष बहादुर अमात्यदेखि कर्मचारी, कृषि व्यवसायी, सशस्त्र प्रहरी लगायत ५२ जना छन्। ५२ जनाले एक अर्ब एकान्ब्बे करोड सतहत्तर लाख छब्बीस हजार छ सय एकहत्तर रुपैयाँ सरकारलाई बुझाएका छैनन् ।

कार्यालयले व्यक्ति/र्फमको नाम, ठेगाना र बुझाउनुपर्ने रकमसहितको विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा-ब्याज दाखिला गर्न भनेको छ। अन्यथा उनीहरुको चल अचल सम्पत्ति दाबी गरी प्रचलित कानुन बमोमिज असुल उपर गर्ने चेतावनी दिइएको छ।
सबैभन्दा धेरै भारतीय नागरिक राकेश वाधवाले एक अर्ब पाँच करोड, ७९ लाख एक हजार तीन सय तीस रुपैयाँ तिर्न बाँकी रहेको छ। राकेशको रिक्रियसन सेन्टरले सोल्टी, अन्नपूर्ण, हायात, एभरेस्टलगायत होटेलमा विभिन्न चरणमा क्यासिनो सञ्चालन गरेको छ।
रकम नबझुाएकाहरुको घर-ठेगानामा पत्राचार गरी उपस्थित हुन भनिएपनि सूचना र प्रयासका बाबजुद पनि सरकारी रकम बाँकी हुनेहरुबाट रकम बुझाउने काम नभएकाले बाध्य भएर तीनपुस्ते विवरण प्रकाशित गरिएको केन्द्रीय तहसिल कार्यालयले जनाएको छ।
हेर्नुहोस् सूचना:


