


काठमाडौं, १८ माघ। विशेष अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश दिएको छ ।
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले साक्षी बुझ्ने आदेश दिएको हो। अदालतको आदेशसँगै अब मुद्दाका साक्षीहरुलाई अख्तियारले विशेष अदालतसमक्ष बकपत्र गराउनेछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।

