


भैरहवा, २० माघ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि रुपन्देही ४ बाट चुनावी मैदानमा होमिएका नेकपा (एमाले) का उम्मेदवार प्रमोदकुमार यादवले क्षेत्रको विकासका लागि स्थानीय प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
मंगलबार गुरवनियामा आयोजित पत्रकार सम्मेलनमा उनले आफु यहीको माटोमा जन्मिएर मर्चवारका समस्या नजिकबाट बुझेको उम्मेदवार भएकाले जनताले अवसर दिने विश्वास व्यक्त गरे।

साढे दुई दशकदेखि राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै उनले मर्चवारलाई कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमार्फत उज्यालो र हराभरा क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य राखेको बताए।
२०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि ग्रामीण सडक, स्वास्थ्य सेवा विस्तार, सामुदायिक विद्यालयको गुणस्तर सुधार र सीपमूलक कार्यक्रम अघि बढाएको दाबी गरे। तर, २०७९ पछि संसदीय प्रतिनिधित्व नहुँदा धेरै योजना अलपत्र परेको भन्दै तिनलाई निरन्तरता दिन पुनः उम्मेदवारी दिएको उनले बताए।
कार्यक्रममा एमाले नेता जितेन्द्रनाथ (बब्लु) शुक्ला र जिल्ला अध्यक्ष यज्ञ गैरेले मर्चवारले यसपटक सक्षम र बलियो उम्मेदवार पाएको भन्दै उम्मेदवारको जित सुनिश्चित भइसकेको दावी गरे ।
यस्ता छन् स्थानीय प्रतिवद्धता
१. वेथरी–थुम्हवा चार लेन सडक स्तरोन्नती गर्ने र लुम्बिनी– मर्चवारी–मर्चवारी –भैरहवा जोडने सडक निर्माण ।
२. मर्चवार लिफ्ट सिंचाई प्रणाली व्यवस्थित गरेर सम्पूर्ण क्षेत्रमा सिंचाई पुर्याउने ।
३. मर्चवारस्थित कृषि हाट बजार व्यवस्थित गरेर कृषि उपज सिंधैं खरिद गर्ने व्यवस्था मिलाउने ।
४. मर्चवारमा निर्माणाधीन शीत भण्डार निर्माण पूरा गरेर सुविधा सम्पन्न वीउ विजन केन्द्र सञ्चालन गर्ने ।
५. सम्मरीमाईमा रहेको आँखा अस्पताललाई संचालन गर्ने ।
६. छोटी भन्सार (सम्मरीमाइको तरेनी थुमुवामा नाका) खोल्ने।
७. स्वास्थ्य सेवाका लागि सुविधा सम्पन्न अस्पताल संचालन गर्ने । ८. हरेक पालिकामा १५ शैयाको अस्पताल बनाउने।
९. कोटहीमाईको मझगावाँमा रहेको डिग्री कलेजलाई व्यवस्थित गर्ने र मर्चवारमा कृषि प्राविधिक शिक्षालय सञ्चालन गरिने ।
१०ं. मर्चवारमा रिङरोड निर्माण गर्ने । यसले तुनियाहवादेखि बगौली, सेमरा, करौला हुँदै रोहिणीहवा, भगैयासम्म सुविधा पुग्नेछ।
११. भैरहवा विमानस्थलदेखि वेथरी छपिया बजार हुँदै वनघुसरी सम्मको सडक स्तरोन्नती गर्ने।
१२. छपियादेखि लुम्बिनी जोड्ने सडकको स्तरोन्नती गर्ने ।
१३. सम्मरीमाई चकियाघाटदेखि लुम्बिनी सांस्कृतिक नगरपालिका–१२, जोड्न दानव नदीमा पक्कि पुल निर्माण गरिने।
१४. विभिन्न ठाउँमा तटबन्धको व्यवस्थापन, डुवान क्षेत्रको पहिचान गरि तटवन्ध बनाउने।
१५. कुस्ती खेलका लागि मर्चवारमा स्थायी अन्तर्राष्ट्रिय कुस्ती स्पोर्टस एकेडेमी निर्माण गरिने।
१६. शुद्ध पिउने पानीका लागि घरघरमा खानेपानी संस्थानका धारा जडान गर्ने।
१७. चोकचोकमा सार्वजनिक शौचालय र वाइफाइ सेवा व्यवस्थित गरिने।
१८. हरेक गाउँपालिकामा दमकलको व्यवस्था गरिने।
१९. तीनवटै पालिकाकालाई पायक पर्ने गसर खेलकुद मैदान निर्माण गर्ने र युवालाई खेलमा जोड्नेगरी फुटबल, भलिबल र क्रिकेट अभ्यासका विशेष कार्यक्रम सन्चालन गर्ने।
२०. मर्चवारीमाई, कोटहीमाई सम्मरीमाई, केवटनिया लगायतलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकाम गरेर मुलुकका प्रमुख गन्तव्यको सूचिमा समावेश गर्न पहल गर्ने।
२१. मर्चवारमा ग्रामीण पर्यटनका विभिन्न कार्यक्रम बनाएर किशोर, युवालाई सक्रिय बनाइने।
२२. जेन–जी पुस्ताको जोश, जेनवाइ पुस्ताको होसलाई साथमा लिएर समृद्ध मर्चवार, सुखी मर्चवारबासी अभियान सफल बनाउने।
२३. मर्चवारलाई अन्न भन्डारको केन्द्रका रुपमा स्थापित गराएर संघीय सरकारबाट विशेष कार्यक्रम संचालन गर्ने।
२४. किसानलाई मलखादको व्यवस्थापनमा सहजीकरण गर्ने।
२५. मर्चवारमा सर्पदंश उपचार केन्द्र स्थापना गरी संचालन गर्ने ।

