


भैरहवा,२१ माघ । स्याङ्जाली परिवार रुपन्देहीले १८ औं स्थापना दिवसको अवसरमा बुधवारमा खुल्ला रक्तदान एवं स्वागत कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखा रक्त संचार सेवा केन्द्र सिद्धार्थनगरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेगनाथ पाध्या एवं वरिष्ठ अधिवक्ता शिव गौडेल लगायतले रक्तदान गरेको कार्यक्रममा १३ पिन्ट रगत संकलन भएको रेडक्रस सिद्धार्थनगरका सचिव रामप्रसाद सापकोटाले जानकारी दिए।
तीन महिनाको अन्तरालमा रक्तदान गर्दा कुनै फरक नपर्ने गरेको अनुभव सुनाउदै आफूले यसपटकसमेत गरी ६० औं पटक रक्तदान गरेको भैरहवा निवासी विष्णुप्रसाद मरासीनीले बताए ।
संस्थाका संस्थापक अध्यक्ष डि.आर. शर्माको अध्यक्षता एवं वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद मरासीनीको संयोजन र क्षेत्रीय समिति भैरहवाका अध्यक्ष गणेश प्रसाद तिवारीको समन्वयमा स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आह्वान भएको थियो ।
स्याङजाबाट रुपन्देही जिल्लामा आई विभिन्न ठाउँमा छरिएर स्थायी एवं अस्थायी रुपमा बसेका स्याङजाली मुलका कर्मचारी एवं नागरिकलाई स्वागत सम्मान समेत गरिएको संस्थाका सल्लाहकार दिर्घराज काफ्लेले बताए।

