


काठमाडौं,२३ माघ । अगामी फागुन २१ गते हुने निर्वाचनका लागि ६० जिल्लाको मतपत्र छपाइ सकिएको छ ।
२५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ । विवरणअनुसार, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम) , सल्यान, सुर्खेत, बाजुरा र अछामको मतपत्र छपाइ र प्याकिङको काम सम्पन्न भएको छ।

यस्तै, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ सम्पन्न भइसकेको छ। ६० जिल्लाको मतपत्र पनि छपाइ सम्पन्न भइसकेको तर, प्याकिङको काम भने बाँकी रहेको आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ सम्पन्न भइसकेको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ एवं रुजु गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ।
त्यस्तै प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने छ । यही माघ १६ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम शुरु भएको थियो। यस्तै, १० लाख ९८ हजार २०० बराबरको नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।

