


लुम्बिनी, २७ माघ । जेनजी आन्दोलन पश्चात केही नेता/जनप्रतिनिधिले चेत खाएका छन् भने केहीले अझै नचेतेको अवस्था छ । अझै पनि उही पुरानै ढर्रामा सरकारी कार्यालयहरुमा कामकाज चलिरहेका छन् । नागरिकले पाउने सास्ती अझै पनि कम भएको छैन् ।
स्थानीय तहका अधिकांश जनप्रतिनिधिहरुको कार्यशैली अझै उस्तै छ । जेनजी आन्दोलनताका देखा नपरेका अधिकांश जनप्रतिनिधिहरु फेरी पुरानै शैलीमा सल्बलाउन थालेका छन् । वर्षमा स्थानीय विदा दिन सक्ने अधिकार भन्दा बढी विदाको पत्रमा दस्तखत गर्ने मोह अझै कम भएको छैन ।

त्यसैमाथी जनप्रतिनिधिहरुको पिर्के/टेबल सलामी खाने अर्को मोह छ। पिर्के/टेबल सलामी खाँदा चर्को आलोचना खेप्नु परेको अनेक उदाहरण छन् । तर, पनि सलामी खाने मोह अझै घटेको छैन ।
यस्तै रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट एउटा घटना बाहिरिएको छ । त्यहाँ सोमबारदेखि ५ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु भएको छ । जसमा सहभागी विद्यालयका बालबालिकाहरुबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यवाहक प्रमुख एवं उपप्रमुख (उपमेयर) कल्पना हरिजनले विक्ट्री स्ट्यान्डमा उभिएर सौकिन चश्माका साथ ‘टेबल सलामी’ खाएको विषयले चर्चा पाएको छ ।
राज्यको उच्च ओहदाका व्यक्तिले सलामी ग्रहण गर्नु परेमा सलामी ग्रहण गर्ने सम्बन्धको पनि तौरतरिका/प्रचलन छ । र, उनीहरुले सोही अनुसार गर्छन पनि । सामाजिक संजालबाट सार्वजनिक भीडियो अनुसार, प्रचलन बमोजिम उपमेयर हरिजनले सलामी ग्रहण शैली समेत नमिलेको देखिएको छ । विद्यार्थीहरु पनि कसैले सलामी दिएका छन् त कोही आफ्नै सुरतालमा बिना सलामी मार्चपासमा गरिरहेको भीडियो देखिन्छ ।
विगतदेखि सलामी लिँदै (ग्रहण) आएकोले यस पटकको प्रतियोगिताको संयोजकको हैसियतले आफुले विद्यार्थीहरुबाट सलामी लिएको उपमेयर हरिजनको भनाई छ । सहभागी विद्यार्थीहरुको मनोबल उच्च बनाउनका लागि पनि आफुले सलामी लिएको उनको दावी छ ।
स्थानीय सरकार सञ्चालन ऐनमा जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार स्पष्ट रुपमा उल्लेख गरिएको भए पनि विद्यार्थीबाट सलामी ग्रहण गर्ने सम्बन्धमा कुनै विशेष व्यवस्था उल्लेख गरिएको छैन । यसलाई प्रशासनिक मर्यादा र पदको गरिमासँग जोडेर हेर्नुपर्ने सरोकारवालाको धारणा छ।
स्थानीयका अनुसार, सुधारका लागि जेनजी आन्दोलन होस् वा आलोचना जनप्रतिनिधि आफ्नो रवाफ घटाउन तयार नरहेको देखिन्छ । एमालेबाट निर्वाचित उपमेयर हरिजनको कदम जेनजी आन्दोलनको भावना विपरीत भएको सरोकारवालाको भनाई छ ।

