


काठमाडौं,२८ माघ। सर्वोच्च अदालतले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले सवारी साधानहरुमा अंग्रेजी लिपिको इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिले सबै सवारीसाधनमा अंग्रेजी भाषा र रोमन लिपिमा तयार पारिएका विद्युतीय संकेत संख्या (इम्बोस्ड नम्बर प्लेट) अनिवार्यरुपमा प्रयोग गर्नुपर्ने निर्णय गरेको थियो।
विभागको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। भाषा आयोगले पनि सरकारको उक्त निर्णयप्रति सरकारको ध्यानाकर्षण गराएको थियो।
सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ, ‘सुविधा र सन्तुलनको दृष्टिकोणबाट समेत भौतिकमन्त्रीज्यूको अध्यक्षतामा बसेको विषयगत समितिको निर्णय र यातायात व्यवस्था विभागको सूचना कार्यान्वयन नगर्नू नगराउनू भनी अन्तरिम आदेश जारी गरिएको छ।’

