


भैरहवा,२८ माघ । रुपन्देही जिल्लामा उपभोक्ताको स्वास्थ्य र हितलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको छ। जिल्ला बजार अनुगमन समितिले रोहिणी गाउँपालिकाको धकधई र भैरहवा क्षेत्रमा अनुगमन गरेको हो।
मासु पसल, सुनचाँदी पसल, किराना तथा खाद्यान्न पसल, कस्मेटिक र होटलहरुमा गरिएको अनुगमनमा अधिकांश व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेको, न्यूनतम व्यावसायिक मापदण्ड पालना नगरेको र म्याद गुज्रिएका सामग्रीहरु बिक्रीमा राखेका थिए।

समितिले फेला पारेका म्याद नाघेका सामग्रीहरुलाई नष्ट गरेको छ भने मापदण्ड विपरीत सञ्चालित व्यवसायलाई बन्द गराएको छ। धकधई बजारमा अनुगमन टोली पुगेपश्चात केही व्यवसायीले सटर बन्द गरेका थिए।
भैरहवाको हाटबजार क्षेत्रमा रहेका मासु पसलहरुमा मासुको अस्वच्छ भण्डारण र बिक्री वितरण भइरहेको पाइएकाले चेतावनी दिइएको छ । अनुगमनकै क्रममा बसपार्क नजिकैको होटल र डान्स बारमा शंकास्पद गतिविधि देखिएपछि होटल सञ्चालक र केही युवायुवतीलाई नियन्त्रणमा लिएर सोधपुछ समेत गरिएको छ।
जिल्ला बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बजारलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन अनुगमन कार्यलाई आगामी दिनमा पनि नियमित रुपमा अगाडि बढाइने बताए ।
उनले व्यवसायीहरुलाई तत्काल आफ्नो कमजोरी सुधार गर्न सचेत गराउँदै निर्देशन अटेर कारवाही हुने बताए। साथै, उपभोक्ताहरुलाई पनि सचेत रहन र सामग्री खरिद गर्दा गुणस्तर तथा म्याद जाँच गरेर मात्र उपभोग गर्न आग्रह गरिएको छ।

