


काठमाडौं,२८ माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनाका तत्कालीन प्रमुख र बागमती नगरपालिकाका नगर प्रमुख (मेयर) सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले भ्रष्टाचार गरेको दावीसहित सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे, बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा, उपप्रमुख लिलाकुमारी मुक्तान, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, तत्कालिन लेखा अधिकृत विश्वराज पोखरेलसहित १३ जनाविरुद्ध बुधवार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार सागरनाथ वन विकास परियोजना अन्तर्गतको राष्ट्रिय वन क्षेत्रमा अवैध रुपमा उत्खनन गरी ५८ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावट गरिएको छ।
राष्ट्रिय वन क्षेत्रमा कानुनी प्रक्रिया पूरा नगरी बहुउद्देश्यीय माछा पोखरी निर्माणका नाममा ढुंगा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थ उत्खनन गरी ७ करोड ३८ लाख क्यू फिटभन्दा बढी वन पैदावार निकालिएको थियो। उक्त उत्खननबाट उठ्नुपर्ने ५८ करोड ६२ लाख १४ हजार ६५८ रुपैयाँ ९९ पैसा बराबरको रोयल्टी नउठाई राजस्व हिनामिना गरिएको आयोगले जनाएको छ।






