


काठमाडौं,४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । बाँकी रहेका पाँच लाख मतपत्र पनि आज छापेर सकिने बताइएको छ ।
केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार, प्रत्यक्षतर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको पाँच लाख मतपत्र आजै सकिनेछ। छपाइ सम्पन्न भएपछि भोलिसम्म सबै मतपत्र प्याकिङ गरी बाँकी जिल्लामा ढुवानी गरिनेछ।

छपाइ सम्पन्न भएका १० लाख नमूना मतपत्र विभिन्न स्थानमा पुर्याइसकिएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फका मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न गरी जिल्लामा पठाउने कार्य भइरहेको छ।
पौडेलका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेको छ भने बाँकी क्षेत्रमा पनि १२ गतेसम्म पुर्याउने लक्ष्यका साथ काम भइरहेको छ।

