


भैरहवा,७ फागुन । प्रतिनिधिसभा निर्वाचन लक्षित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिवार भैरहवामा ‘परिवर्तन उद्घोष सभा’ को तयारी थालेको छ ।
बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनमा सभाबारे जानकारी दिदै चुनावी जनसभा मुल आयोजक समिति लुम्बिनी प्रदेशका संयोजक एवं केन्द्रीय सदस्य सन्तोष गिरीले कार्यक्रमलाई व्यवस्थित, छोटो र सन्देशमुखी बनाइने बताए।

उनका अनुसार, कार्यक्रमलाई पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, नवलपरासी (पश्चिम) अर्घाखाँची, गुल्मी, पाल्पा जिल्लाका उम्मेदवार लगायतले सम्बोधन गर्ने तालिका छ । रुपन्देहीको पाँच वटै क्षेत्रबाट र्यालीसहित उम्मेदवार, नेता, कार्यकर्ताहरु भैरहवा आउने छन् ।
उनले भैरहवाको अञ्चलपुरमा तयारी थालिएको सभास्थलमा ८० हजारभन्दा बढीका सहभागीता हुने गरी प्राविधिक व्यवस्थापन गरिएको बताए । उनका अनुसार, इन्जिनियरिङ डिजाइनमार्फत प्रवेश-निर्गमन, मञ्च व्यवस्थापन, ध्वनि प्रणाली र आपतकालीन मार्गको व्यवस्था मिलाइएको र कार्यक्रमलाई भीड व्यवस्थापनका दृष्टिले सुरक्षित र अनुशासित बनाइनेछ।
पुरानो राजनीतिक शैलीलाई परिवर्तन गर्दै ‘छोटो र छरितो’ कार्यक्रमको अभ्यास गर्ने रास्वपाले जनाएको छ ।

