
काठमाडौं,७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन देश बनाउने र भत्काउने शक्तिबीचको जनमत संग्रह भएको टिप्पणी गरेका छन्।
बिहीबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले यो निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष भएको बताए। उनले देश निर्माणका लागि युवाको ऊर्जा र अनुभवी पुस्ताको मार्गदर्शन दुवै आवश्यक रहेको उल्लेख गर्दै सबै पुस्तालाई जोड्ने राजनीति एमालेको विशेषता भएको दाबी गरे।
Advertisement

Advertisement
Advertisement

उनले राजनीतिक अस्थिरता समृद्धि र सुखी नेपालीको बाटोमा मुख्य बाधा रहेको उल्लेख गर्दै एमाले सधैं निर्माण, सहकार्य र स्वाधीनताको पक्षमा रहेको बताए। देश, लोकतन्त्र, संविधान र स्वाभिमान एमालेको पहिलो प्राथमिकता भएको उनको भनाइ थियो।
एमालेको प्राथमिकता देश पहिले भएको बताउँदै ओलीले विचारहीन र दिशाहीन स्टन्टबाट टाढा रहेको टिप्पणी गरे। ‘हाम्रो प्राथमिकता एउटै हो, देश पहिले। देशको भूमि र स्वाधीनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति सुव्यवस्था, यी सबैभन्दा माथि केही छैन’, उनले भने,‘ हामी निर्माणका पक्षमा छौं, उत्तेजनाको पक्षमा होइनौं। हामी स्वाधीनता र सार्वभौमसत्ताका रक्षक हौं, त्यसैले कस्तै आक्रमणको बेलामा पनि मौन बस्दैनौं। हामी भय र त्रासमा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउन चाहन्छौं। त्यसैले विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौं।’

