


रौतहट, ७ फागुन। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालले अब सक्रिय चुनावी राजनीतिबाट बाहिरिने घोषणा गरेका छन्।
बिहीबार रौतहटको गौरमा पत्रकारसँग कुराकानी गर्दै उनले आगामी दिनमा कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने आफ्नो दृढ मनस्थिति रहेको उनले बताए। अन्तरात्माको आवाज सुन्दै अब चुनावी राजनीतिबाट विश्राम लिने र यो नै आफ्नो अन्तिम चुनाव भएको उनको भनाई थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका उनले अब अध्ययन, लेखन, भ्रमण र सामाजिक सेवामा समय दिने योजना सुनाए। साथै, पतञ्जली जग्गा प्रकरणमा आफूमाथि लगाइएको आरोपलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै केपी शर्मा ओलीले सिँध्याउने उद्देश्यले षड्यन्त्र गरेको आरोप लगाए।
हाल नेपाल रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् भने पतञ्जली योगपीठको जग्गा सम्बन्धी भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ।

