


भैरहवा, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित भैरहवामा शनिवार आयोजना गर्न लागेको ‘परिवर्तन उद्घोष सभा’ स्थगित भएको छ ।
केन्द्रबाट चुनावी सभा स्थगित गर्ने निर्देशन प्राप्त भएकोले सभा स्थगित भएको रास्वपा रुपन्देहीका नेता विनोद खरेलले बताए ।

पार्टीका उपसभापति एवं संघीय निर्वाचन सम्पादनका संयोजक डोलप्रसाद अर्यालले संघीय निर्वाचन सम्पादन समितिको प्रदेश समन्वयका सचिव अर्जनु अधिकारीलाई पठाएको पत्रमा भनिएको छ, ‘भैरहवामा परिवर्तन उद्घोष सभा गर्ने भनिएकोमा संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनैतिक व्यवस्थापन लगायतका विशेष कारण उक्त कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराउँदछु ।’
भोली शनिवार भैरहवाको अंचलपुरमा तयारी थालिएकोसभामा पार्टी सभापति रवि लामछिाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लुम्बिनी प्रदेशका ६ जिल्लाका उम्मेदवार लगायतले सम्बोधन गर्ने तालिका थियो । जसका लागि पत्रकार सम्मेलन, प्रचारप्रसार लगायतका कार्य भइरहेको थियो ।

