
भैरहवा, ८ फागुन । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले किसानलाई आवश्यक मलखाद र उन्नत बीउबिजन समयमै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
खेतीपातीको मुख्य सिजनमै मल अभाव र गुणस्तरीय बीउ नपाउँदा किसानले वर्षेनी समस्या झेल्दै आएको उल्लेख गर्दै उनले राज्यको आपूर्ति प्रणाली प्रभावकारी बनाउने बताए।
Advertisement

Advertisement
Advertisement

‘किसानले लाइन बस्ने, कालोबजारीको मार खेप्ने अवस्था अन्त्य हुनुपर्छ,’ उनले भने, ‘आवश्यक मलखाद र उन्नत बीउ समयमै र सहुलियत दरमा उपलब्ध गराउन पहल गर्नेछु।’
उनका अनुसार कृषि सामग्रीको आपूर्ति प्रणाली पारदर्शी र व्यवस्थित बनाउँदै स्थानीय तह र सहकारीमार्फत वितरण संयन्त्र बलियो पारिनेछ। ‘रुपन्देही कृषि सम्भावनाले भरिएको जिल्ला हो,’ उम्मेदवार गुरुङले भने, ‘तर किसानले आधारभूत सामग्री नै नपाउने अवस्था भए उत्पादन कसरी बढ्छ? जसकारण किसानलाई समयमै मलखाद, उन्नत बीउबिजन उपलब्ध गराउनेछु।’
गुरुङले कृषि उत्पादन वृद्धि र किसानको आम्दानी बढाउन बीउको गुणस्तर परीक्षण, भण्डारण व्यवस्था र अनुगमन संयन्त्रलाई समेत कडाइका साथ लागू गर्नुपर्ने धारणा राखे। ‘किसान सशक्त भए क्षेत्रको अर्थतन्त्र बलियो हुन्छ,’उनले भने, ‘कृषिलाई सम्मानजनक र नाफामुखी पेशा बनाउने दिशामा काम गर्नेछु।’

