


लुम्बिनी,८ फागुन। प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले कृषि, पर्यटन र व्यापारको सम्भावना बोकेको यस क्षेत्रलाई पाँच वर्षभित्र लुम्बिनी प्रदेशमा सुविधायुक्त र व्यवस्थित क्षेत्र बनाउने बताएका छन् ।
‘समृद्ध क्षेत्र नं. ५ को बलियो आधार’ नारासहित तयार पारिएको योजनामा सडक पूर्वाधारलाई प्राथमिकता दिइएको छ। हुलाकी राजमार्गको बाँकी खण्ड तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने, लुम्बिनी–गैडहवा–रुद्रपुर–सैनामैना जोड्ने उत्तर–दक्षिण सडकलाई चार लेनमा विस्तार गर्ने तथा पाँच वर्षभित्र सबै मुख्य टोल–बस्तीका सडक कालोपत्रे वा आरसीसी गर्ने आफ्नो योजना उनले सुनाए ।

‘जनताले वर्षौंदेखि धुलो, हिलो र खाल्डाखुल्डी सडकका कारण समस्या भोगिरहेका छन् । धुलो र खाल्टोबाट मुक्त सडक जनताको आधारभूत अधिकार हो,’ उम्मेदवार खानले भने, सडक पूर्वाधार नै विकासको सुरुवात भएकोले यस विषयमा म स्पष्ट खाका तयार छ ।’
दानव, तिनाउ र कञ्चन नदीका कारण वर्षायाममा विच्छेद हुने बस्तीलाई जोड्न कम्तीमा पाँच वटा नयाँ पक्की पुल निर्माण गर्ने तथा पुराना ह्युम पाइप हटाएर आधुनिक कल्भर्ट जडान गर्ने उनको योजना छ। नदी कटान नियन्त्रणका लागि दीर्घकालीन तटबन्धन र चेनलिङ्क जडान गरिने उनले उल्लखे गरे।
खानेपानीतर्फ ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरी पाँच वर्षभित्र प्रत्येक घरधुरीमा पाइपमार्फत शुद्ध पानी पुर्याउने लक्ष्य राखिएको छ। रुद्रपुर, गजेडी र लुम्बिनी आसपासका बजार क्षेत्रमा आधुनिक ढल निकास र फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिने उनले बताए।

ऊर्जा र प्रविधितर्फ पूर्ण विद्युतीकरण, मुख्य चोकमा सोलार हाइ–मास्ट लाइट र सार्वजनिक स्थलमा निःशुल्क उच्च गतिको वाइफाइ उपलब्ध गराउने योजना अघि सारिएको छ।
कृषि उत्पादनलाई बजारसँग जोड्न ‘फार्म–टु–मार्केट’ सडक सञ्जाल, १६ र ३६ मौजा सिँचाइ प्रणालीको आधुनिकीकरण तथा ५० वटा डिप ट्युबवेल निर्माण गरिने प्रतिबद्धता उनले जनाएका छन्। कृषकको उत्पादन खेतमै सड्ने अवस्था अन्त्य गर्ने उनको भनाई छ।
लुम्बिनी आसपास ‘बुद्धिस्ट सिटी’ अवधारणामा विकास गर्ने, प्रत्येक वडामा बहुउद्देश्यीय सामुदायिक हल, क्षेत्रीय रंगशाला र पालिकास्तरमा कभर्ड हल निर्माण गर्ने योजना रहेको उनले सुनाए । साथै प्रत्येक पालिकामा खुला पार्क र सडक किनारमा वृक्षारोपण गरी ‘ग्रीन करिडोर’ निर्माण गरिनेछ।
‘अब नाराले होइन, परिणामले राजनीति मापन हुनुपर्छ,’ रास्वपा उम्मेदवार खानले भने, ‘विकासको राजनीति सुरु गरौं, नारा र आश्वासनको होइन। क्षेत्र लाई प्रदेशकै नमुना क्षेत्र बनाउनेछु ।’

