


काठमाडौं,१३ फागुन । निर्वाचन आयोगले फरक राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा अवरोध गरेको पाइएमा कारवाही हुने जनाएको छ ।
आयोगका अनुसार, प्रचारप्रसारमा अवरोध गरेको पाइएको अवस्थामा त्यस्ता व्यक्तिलाई दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ।

सङ्घीय कानुनअनुसार उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध वा थुनछेक गर्न नपाइने व्यवस्था छ। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दल तथा उम्मेदवारको प्रचार गतिविधि विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ।
हाल विभिन्न दल वा उम्मेदवारका कार्यक्रम बिथोलिएको सम्बन्धमा गुनासो र उजुरी प्राप्त भएको तथा सञ्चारमाध्यमबाट समेत जानकारी आएकाले आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
निर्वाचन आचारसंहितामा जुलुस, आमसभा, भेला वा अन्य कार्यक्रम अवरोध गर्न नहुने स्पष्ट व्यवस्था रहेको स्मरण गराउँदै आयोगले आसन्न निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालालाई कानुन पालना गर्न आग्रह गरेको छ।

