
भैरहवा,१३ फागुन। अस्पतालको व्यस्त ओपिडीमा बिरामी जाँच्दै देखिने वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापा यतिबेला रुपन्देहीका सडक र बस्तीमा मतदातासँग संवाद गरिरहेका छन्। स्टेथस्कोप र सेतो एप्रोन केही समयका लागि थन्क्याएर उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ मा चुनावी मैदानमा उत्रिएका छन्।
क्षेत्रका ३६ वडामध्ये २९ वटामा पुगिसकेका थापाले टोल–टोलमा पुगेर मतदाताका गुनासा, समस्या बुझ्दै आफ्नो ‘रोडम्याप’ सुनाइरहेका छन् ।स्वास्थ्य क्षेत्रमा लामो अनुभव बटुलेका उनी आफूले अस्पतालमा सिकेको ‘सेवा’ र ‘जवाफदेहिता’को संस्कार राजनीतिमा पनि लागू गर्न चाहेको बताउँछन्। उनका अनुसार बिरामीको पीडा नजिकबाट बुझेको अनुभवले समाजका गहिरा समस्याहरु बुझ्न सहयोग पुर्याएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

पार्टीका अनुसार, विशेषगरी विपन्न, सिमान्तकृत र पिछडिएका बस्तीहरुमा थापाको उपस्थितिलाई स्थानीयले उत्साहपूर्वक स्वागत गरेका छन्। वर्षौँदेखि पुराना राजनीतिक दलप्रति निराशा बढ्दै गएको समुदायमा नयाँ अनुहारप्रति चासो र अपेक्षा देखिएको दाबी गरिएको छ। सियारी गाउँपालिका-२ का रामचन्द्र कहार भन्छन्, ‘हामीले पटक–पटक उही दल र उही अनुहारलाई अवसर दियौँ, तर परिणाम उस्तै रह्यो। अब भाषण होइन, काम गरेर देखाउने नेतृत्व चाहिएको छ।’
यस्तै, सिद्धार्थनगर नगरपालिका–९ की सावित्रीदेवी केसी चिकित्सक पृष्ठभूमिबाट राजनीतिमा आएको नेतृत्वलाई सकारात्मक रुपमा हेर्नुपर्ने बताउँछिन्। उनका अनुसार, समाजको आधारभूत आवश्यकताबारे नजिकबाट बुझ्ने व्यक्तिले नीति निर्माणमा प्रवेश गर्दा जनताले प्रत्यक्ष लाभ पाउने अपेक्षा गर्न सकिन्छ।
घरदैलो अभियानका क्रममा झण्डै ९० प्रतिशत मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको उम्मेदवा। थापाको दाबी छ। जनताका माग कुनै असम्भव वाचा नरहेको उनी बताउँछन्। ‘गुणस्तरीय शिक्षा, सहज र सुलभ स्वास्थ्य सेवा, र स्थानीय स्तरमै रोजगारी-यी नै नागरिकका आधारभूत अधिकार हुन्,’ उनले भने, ‘यदि इमानदारी र स्पष्ट योजनाका साथ काम गरियो भने यी विषय सुनिश्चित गर्न पाँच वर्षको कार्यकाल पर्याप्त हुन्छ।’

