
भैरहवा,१४ फागुन। प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–३ मा चुनावी सरगर्मी बढ्दै गएको छ। यही बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. लेखजंग थापा क्षेत्रका विभिन्न स्थानमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई तीव्र बनाएका छन् ।
पार्टी निर्वाचन परिचालन समितिका अनुसार,पछिल्ला केही दिनयता उनी गाउँ–टोल केन्द्रित कार्यक्रममा व्यस्त छन्। स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनले शिक्षा, कृषि, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा रहेको बताएका छन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘राजनीति परिणाममुखी हुनुपर्छ, जनताको दैनिक जीवनमा परिवर्तन देखिनुपर्छ,’ उम्मेदवार थापाले भने, ‘वर्षौंदेखि दोहोरिँदै आएको आश्वासन होइन, अब काम देखिने नेतृत्व आवश्यक छ, जसका लागि म सँग स्पष्ट खाका छ।’
रास्वपाले यस क्षेत्रमा नयाँ पुस्तालाई लक्षित गर्दै अभियान सञ्चालन गरिरहेको छ। युवासँगको छलफल, व्यवसायीहरुसँगको भेटघाट र महिला समूहसँग अन्तरक्रिया गर्दै जनमत बटुल्ने प्रयासमा छ। पार्टीका स्थानीय नेताहरुका अनुसार रुपन्देही–३ मा वैकल्पिक राजनीतिक शक्तिको माग बढ्दो छ।
‘यो निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, नयाँ राजनीतिक संस्कार स्थापित गर्ने अवसर पनि हो,’उनले भने,‘हामी पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नेछौं।’
रुपन्देही–३ मा कृषि आधुनिकीकरण, युवाका लागि रोजगारी सिर्जना, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, पूर्वाधार विकास लगायतमा विशेष योजना ल्याउने उनको भनाई छ।

