


भैरहवा, १४ फागुन। नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माको नेतृत्वको टोलीले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा अनुगमन गरेको छ। सबै क्षेत्रमा उम्मेदवारहरु निर्वाचित हुने पूर्णआत्मविश्वासका साथ मैदानमा खटिएको र अहिलेको वातावरणले सबै क्षेत्र जित्ने बलियो आधार बनेको अनुगमन टोली निश्र्कष छ।
सचिव विश्वकर्मासँगको टोलीमा रुपन्देहीका पूर्व इन्चार्ज रहेका नेता लिला गिरी, नेता गोपाल भट्टराई र जिल्ला अध्यक्ष यज्ञ गैरेले सबै निर्वाचन क्षेत्रका उम्मेदार, निर्वाचन परिचालन कमिटी र ती क्षेत्रमा रहेका विभिन्न कार्यक्रमसमेतको अवलोकन गरेर उम्मेदवारसहित त्यहाँको पार्टी नेतृत्वलाई आगामी रणनीतिबारे निर्देशन गरेको थियो।

जिल्ला अध्यक्ष गैरेका अनुसार सबै क्षेत्रका उम्मेदवारहरुसँग घरदैलोकै क्रममा प्रत्यक्ष संवाद, निर्वाचन परिचालन कमिटीको नेतृत्वसँग छलफल तथा क्षेत्रीय रुपमा आयोजित घरदैलो, प्रचार र्यालीसहितका कार्यक्रम अनुगमन गरिएको हो।
टोलीले सबै उम्मेदवारहरुले फराकिलो मतान्तरले जित्ने आत्मविश्वासका साथ मैदानमा खटिएको पाएपछि सामाजिक सन्जालमा चलाइएका अफवाहमा कुनै सत्यता नरहेको निचोडमा पुगेको तर एमालेको पक्षमा माहोल तयार भएपछि विपक्षीहरुले गर्ने गलत प्रचार तथा निर्वाचन नै विथोल्ने रणनीतिका बारेमा विशेष चनाखो रहन सम्बन्धित क्षेत्रीय कमिटीलाई निर्देशन दिइएको जनाएको छ।

