
भैरहवा, १४ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले चुनावी घरदैलोलाई तीव्रता दिएका छन् ।
बिहीबार सिद्धार्थनगर नगरपालिका वडा नं. ७ र ९ का विभिन्न टोल–बस्तीमा पुगेर उनले मतदाताका समस्या, अपेक्षा र सुझाव सुन्दै आफू निर्वाचित भए कानुन, नीति निर्माण तथा विकासका कार्यहरु कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्। मतदाताले सडक स्तरोन्नति, मलखाद–बिउबिजन, सिँचाइ, शिक्षा, स्वास्थ्य र रोजगारीका विषय उठाएका थिए।
Advertisement

Advertisement
Advertisement

घरदैलोका क्रममा घिमिरेले ज्येष्ठ नागरिकसँग आशीर्वाद लिनुका साथै युवा, किसान र व्यवसायीसँग छलफल गरेका छन्। मतदाताले तिलोत्तमा नगरपालिकाको प्रमुख र संघीय सांसदका रुपमा गरेका कामको स्मरण गर्दै घिमिरे परीक्षण भइसकेको, अनुभवी र काम गरेर देखाइसकेको नेतृत्व भएको प्रतिक्रिया दिएका छन्।
विकास निर्माण, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका आधारमा घिमिरेलाई अवसर दिनुपर्ने उनीहरुको भनाइ छ।
घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन, रणनीतिक सडक स्तरोन्नति, कृषि क्षेत्रको सुधार, शिक्षा–स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र भ्रष्टाचारमुक्त प्रशासनलाई प्राथमिकतामा राखिएको बताएका छन्।

