


भैरहवा, १८ फागुन। विभिन्न पार्टी परित्याग गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नेको लहर बढेको छ । पछिल्लो समय स्वतन्त्र उम्मेदवार, व्यक्ति, अन्य दलमा आवद्ध नेता कार्यकर्ताहरु आवद्ध पार्टी त्यागेर राप्रपामा धमाधम प्रवेश गरिरहेका छन् ।
सोमबार राष्ट्रिय मुक्ति पार्टीका निवर्तमान वरिष्ठ उपाध्यक्ष दिनेशमणि मिश्र, नेपाली कांग्रेसका श्रीराम गुप्ता, नेपाली कांग्रेसको क्षेत्रीय सदस्य बसन्ती देवी गुप्ता र नेपाल लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य मोहम्मद इसहाक मुसलमान पार्टीमा प्रवेश गरेको राप्रपा. रुपन्देहीले जनाएको छ।

नवागन्तुकहरुलाई जिल्ला अध्यक्ष सागरप्रताप राणा, राप्रपाका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार क्यापटेन गौरव बोहोरा, समानुपातिक उम्मेदवार स्वाती थापा लगायतले पार्टीमा स्वागत गरे ।
पार्टीमा बढ्दो आकर्षण पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेताहरुले राप्रपाको राष्ट्रवादी एजेन्डा र विकासप्रतिको प्रतिबद्धताका कारण अन्य दलका कार्यकर्ताहरुमा आकर्षण बढेको बताए।
आईतबार प्रजातान्त्रिक लोकतान्त्रिक पार्टीकी समानुपातिक उम्मेदवार बिमला विश्वकर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का सभापति राजकुमार श्रेष्ठ पनि राप्रपामा प्रवेश गरेका थिए । त्यसअघि स्वतन्त्र उम्मेदवार गोपाल भण्डारीले राप्रपाबाट रुपन्देही ३ का उम्मेदवार बोहरालाई समर्थन गरिसकेका छन् ।
विभिन्न दलका प्रभावशाली व्यक्तिहरुको आगमनले निर्वाचनमा राप्रपाको उपस्थिति थप मजबुत हुने विश्वास लिइएको छ।

