


काठमाडौं,२७ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ २ हजार ८ सय ९० जना उम्मेदवारको जमानत (धरौटी) भएको छ ।
क्षेत्रमा सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ । जमानत जफत हुनेमा ठूलो दलका ‘हेभीवेट’ उम्मेदवारहरु समेत छन् ।

‘सदर मतको १० प्रतिशतभन्दा बढी मत ल्याउने उमेदवारले जमानत फिर्ता पाउँछन्’, निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने,‘तर १० प्रतिशतभन्दा कम मत ल्याउनेको जमानत जफत हुन्छ।’
उनका अनुसार, प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धा गरेकामध्ये ५ सय १६ जना उम्मेदवारले मात्र कुल सदर मतको १० प्रतिशत कटाएर आफ्नो जमानत जोगाउन सफल भएकोले उनीहरुले जमानत फिर्ता पाउनेछन् । जसका लागि अन्तिम परिणामपछि ९० दिनभित्र निवेदन दिनुपर्छ।
३५० उम्मेदवारको मत शून्य
सूचना अधिकारी घिमिरेका अनुसार, जमानत जफत भएका २ हजार ८ सय ९० जना उम्मेदवारमध्ये ३ सय ५० जना उम्मेदवारले एक मत पनि प्राप्त गर्न सकेनन्। यसले कतिपय उम्मेदवारहरुले आफैँलाई वा आफ्नो परिवारको मत समेत नपाएको देखिएको छ ।

