
काठमाडौं,२७ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगण्ना सकिएको छ। प्रत्यक्षतर्फको मतगणना सकिएर नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगण्ना पश्चात सिट बाँडफाँटको विषयमा चासो बढेको छ ।
निर्वाचन आयोगले दलहरुले प्राप्त गरेको सदर मतलाई सिटमा रुपान्तरण गर्न अन्तर्राष्ट्रिय अभ्यासमा रहेको ‘सेन्ट लग’ विधि प्रयोग गर्ने जनाएको छ।
Advertisement

Advertisement
Advertisement

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, प्रतिनिधि सभामा प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने प्रणाली) र समानुपातिक गरी दुई प्रकारका निर्वाचन प्रणाली प्रयोग गरिएका छन्। समानुपातिक प्रणालीमा भने सम्पूर्ण देशलाई एउटै निर्वाचन क्षेत्र मानेर राजनीतिक दलहरुले बन्द सूची मार्फत उम्मेदवार पेश गर्ने व्यवस्था हुन्छ। यसमा दलहरुले प्राप्त गरेको कुल सदर मतको आधारमा सिट निर्धारण गरिन्छ।
घिमिरेका अनुसार समानुपातिकतर्फ सिट प्राप्त गर्न दलहरूले कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत (थ्रेसहोल्ड) प्राप्त गर्नैपर्छ। यो सीमा नकटाउने दलहरु सिट बाँडफाँड प्रक्रियामा सहभागी हुन पाउँदैनन्। त्यसपछि थ्रेसहोल्ड पार गरेका दलहरूको मतलाई मात्र सिटमा रुपान्तरण गरिन्छ।
सेन्ट लग विधिअनुसार दलहरुले प्राप्त गरेको सदर मतलाई १, ३, ५, ७, ९, ११, १३ जस्ता बिजोर अंकले निरन्तर भाग गरिन्छ। त्यसबाट प्राप्त हुने भागफलहरुलाई ठूलोदेखि सानो क्रममा मिलाइन्छ।
समानुपातिकतर्फ कुल ११० सिट हुने भएकाले ती भागफलमध्ये सबैभन्दा ठूला ११० वटा भागफल छनोट गरिन्छ। ती भागफल जुन–जुन दलसँग सम्बन्धित हुन्छन्, त्यही आधारमा दलहरुले सिट प्राप्त गर्छन्। बढी मत ल्याउने दलका भागफलहरु माथिल्लो क्रममा बढी पर्ने भएकाले उनीहरुले धेरै सिट पाउँछन् भने कम मत ल्याउने दलले कम सिट पाउँछन्।
सिट संख्या टुंगो लागेपछि राजनीतिक दलहरुले समावेशी सिद्धान्त (आदिवासी जनजाति, मधेसी, खस आर्य, थारु, दलित लगायत) अनुसार क्लस्टर मिलाएर ३ दिनभित्र निर्वाचन आयोगमा नाम सिफारिस गर्नुपर्ने हुन्छ।
दलहरुले पठाएको नाम बन्द सूचीको क्रम र समावेशी कानुनी व्यवस्था अनुसार छ कि छैन भनेर आयोगले भेरिफिकेसन गर्छ। सबै प्रक्रिया पूरा भएपछि मात्रै आयोगले अन्तिम रुपमा निर्वाचित घोषणा गरी प्रमाणपत्र वितरण गर्ने सूचना अधिकारी घिमिरेले जानकारी दिए।

