


काठमाडौं,२९ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयनका लागि पार्टीको विधानलाई संशोधन गर्ने भएको छ ।
पार्टीको विधानको धारा ६६ मा संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ। नेता चयन गर्ने विधानको व्यवस्थामा सम्पूर्ण सदस्यले मतदान गर्ने प्रावधान छ।

उक्त धाराको ८ (ख) संसदीय दलको नेता चयन गर्न ‘पार्टीका सम्पूर्ण साधारण सदस्यहरु मतदाता हुन पाउने’ उल्लेख छ। पार्टीको सहप्रवक्ता प्रतिभा रावलका अनुसार, संसदीयको दलको नेता चयन गर्ने उक्त व्यवस्था संशोधन गर्न लागिएको छ।
बहुमत पार्टी सदस्यबाट संसदीय दलको नेता चयन गर्ने व्यवस्था व्यवहारिक नभएको निर्क्यौलसहित रास्वापले विधान संशोधन गर्न लागेको हो ।
पार्टी सदस्यहरुबाट संसदीय दलको नेता चयन गर्ने विधि सम्भव नभएको हुँदा नयाँ विधि बनाउन लागिएको बताइएको छ। प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदहरु मध्येबाट ५० प्रतिशत मत कटाउने उम्मेदवार संसदीय दलको नेता चयन गर्ने रास्वपाको विधानमा उल्लेख छ ।
रास्वपाले संसदीय दलको नेता सर्वसम्मत रुपमा वरिष्ठ नेता बालेन शाहलाई बनाउने तयारी गरेको छ। शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेर रास्वपाले मत मागेको थियो । जसअनुसार बालेन र रवि लामिछानेबीच पुस १३ गते सहमती पनि भएको थियो ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने’ सहमतीमा भनिएको छ, ‘आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।’
समानुपातिक तर्फका उम्मेदवारले समेत निर्वाचित भएको प्रमाणपत्र निर्वाचन आयोगबाट प्राप्त गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्ने रास्वपाले जनाएको छ।

