
हृदयराम गुप्ता
मर्चवार, १ चैत। ईस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व रमजानको अवसरमा रुपन्देहीका २ सय विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ।
तौहिद मानव परोपकार सेवा संघ, कोटहीमाई–५ को आयोजना तथा वन लाइफ ग्लोबल वेलफेयर सोसाइटी यूकेको सहयोगमा कोटहीमाई–५ बेनीनगरमा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएका हो।
Advertisement

Advertisement
Advertisement

आयोजक संस्थाका अध्यक्ष सैफुल्लाह चुरिहारका अनुसार, रमजान महिनालाई धार्मिक तथा आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । यस महिनामा गरिने दान, सहयोग र परोपकारी कार्यलाई विशेष पूण्यदायी मानिने भएकाले विभिन्न सहयोगी हातहरुको साथमा विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराइएको उनको भनाई छ।
उनका अनुसार, कोटहीमाई, मर्चवारीमाई, सम्मरीमाई, मायादेवी, सियारी तथा शुद्धोधन गाउँपालिकाका विपन्न मुस्लिम तथा हिन्दु धर्मावलम्बी परिवारहरुलाई चामल, पिठो, तेल, नुन र दाललगायतका खाद्यान्न सामग्री उपलब्ध गराइएको छ।
यस कार्यक्रममार्फत धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र मानवताको भावना अझ बलियो बनाउने उद्देश्य रहेको उनले बताए।
खाद्यान्न वितरण कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले संस्थाले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै सहयोगी कार्यले समाजमा मानवता, सहकार्य र सामाजिक एकताको सन्देश प्रवाह हुने बताए।
उनले भने,‘मुस्लिम समुदायका लागि पवित्र मानिने रमजान महिनामा सम्पन्न परिवारले विपन्न परिवारलाई सहयोग गर्नु निकै सकारात्मक र प्रेरणादायी कार्य हो। यसले समाजमा एक–अर्काप्रति सहयोग र सद्भावको भावना बढाउने काम गर्छ।’
अध्यक्ष त्रिपाठीले तौहिद मानव परोपकार सेवा संघले समाजमा गर्दै आएका विभिन्न मानवीय तथा सामाजिक गतिविधिहरु सराहनीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई गाउँपालिकाबाट पनि आवश्यक सहयोग र सहकार्य गर्दै आएको बताए।
कार्यक्रममा स्थानीय समुदाय, समाजसेवी तथा सहयोगीहरुको सहभागिता रहेको थियो। आयोजकले आगामी दिनमा पनि विपन्न तथा आवश्यकतामा रहेका परिवारहरुको सहयोगका लागि यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

