


काठमाडौं.१ चैत। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र सामाजिक सञ्जालमार्फत फैलाइँदै आएको भ्रामक सूचना र घृणायुक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले यस्तो गतिविधि रोक्नुपर्ने र पार्टीभित्र तथ्य र तर्कका आधारमा बहस हुनुपर्ने बताए।
उनले फेसबुकमा स्टाटस लेख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेका यस संवेदनशील घडीमा एक–अर्काप्रति नकारात्मक टिप्पणी गर्नु अशोभनीय भएको उल्लेख गरेका छन्। पछिल्लो समय पार्टीका माथिल्लो तहका नेताहरुबाट आफूलगायत केही नेताविरुद्ध अनर्गल आरोप, घृणाजन्य अभिव्यक्ति र मिथ्या सूचना फैलाइएको उनको गुनासो छ।

भट्टराईले ‘शरु शर्मा’ नामक नक्कली फेसबुक आइडी यस्ता गतिविधिमा सक्रिय रहेको दाबी पनि गरेका छन्।
उनले पार्टीको एकता जोगाउनु, बहुआयामिक सुधार गर्नु र गुमेको जनविश्वास पुन: आर्जन गर्नु सबैको प्राथमिक जिम्मेवारी भएको बताउँदै उपयुक्त समयमा उचित प्रक्रिया र तथ्य–तर्कसहित छलफल र बहस गर्न जरुरी रहेको बताएका छन्। साथै, उनले पार्टी पंक्तिबाटै मिस इन्फरमेसन, डिसइन्फरमेसन र हेट स्पिच अन्त्य हुन जरुरी भएको उल्लेख गरेका छन्।

