


पोखरा,८ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भ्रष्टाचार गरेको आरोपमा २१ जनासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आईतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का तत्कालीन तीनजना महानिर्देशकहरुसहित २१ जनाविरुद्ध ४६ करोड १५ लाख भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धीको यो दोस्रो मुद्दा हो।

यसअघि आठ अर्ब ३७ करोड भ्रष्टाचारको आरोपमा अख्तियारले गत मंसिर २१ मा तत्कालीन पाँच मन्त्री, १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा अदालतमा विचारधीन रहेकै अवस्थामा अख्तियारले दोस्रो मुद्दा पनि दायर गरेको हो।
अख्तियारले पूर्वपर्यटनसचिव केदारबहादुर अधिकारी र क्यानका पूर्वमहानिर्देशकहरु सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीलाई प्रमुख प्रतिवादी कायम गरेको छ। यस मुद्दामा अख्तियारले दुई कम्पनीलाई पनि प्रतिवादी बनाएको छ।

