


मुस्ताङ,९ चैत। नेपाल-चीनसँगको कोरलानाका स्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा करिब ५ अर्ब ७१ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। गत भदौ ३१ देखि पूर्ण सञ्चालनमा आएको उक्त कार्यालयले चैत ७ सम्म यो राजस्व उठाएको हो।
कार्यालय प्रमुख रमेश खड्काका अनुसार यस अवधिमा १२ अर्ब १७ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन् भने २० करोड ३० लाख रुपैयाँ बराबरका वस्तु चीनतर्फ निर्यात भएका छन्। साथै, कोरलानाकाबाट २ हजार ३४७ वटा विद्युतीय सवारीसाधन र १ हजार ८०४ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भइसकेको छ।

रसुवागढी र तातोपानी नाका पहिरोका कारण बन्द भएपछि कोरलानाकालाई वैकल्पिक नाकाका रुपमा प्रयोग गरिएको थियो । पछि सरकारले यसलाई पूर्ण रुपमा सञ्चालनमा ल्याएको हो। पहिले वार्षिक १०–१५ लाख मात्र राजस्व संकलन हुने यो नाकाबाट हाल उल्लेखनीय राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ।

