
काठमाडौं,१५ चैत। मुलुकका तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि अनुसन्धान गर्न थालिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुको चल–अचल सम्पत्ति र आम्दानीका स्रोतबारे छानबिन प्रक्रिया अघि बढाएको हो।
Advertisement

Advertisement
Advertisement

विभागकै पत्राचारअनुसार आइतबार कांग्रेस नेता तथा पूर्वउर्जा मन्त्री दीपक खड्का पक्राउ परेका हुन्। प्रहरीले तीन पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति, आम्दानीका स्रोत तथा अन्य वित्तीय गतिविधिबारे विस्तृत अनुसन्धान गर्नेछ। भदौ २४ मा भएको आगजनी घटनापछि देउवा र दाहालको घरबाट जलेको अवस्थामा रकमका टुक्रा फेला परेको थियो। पूर्वमन्त्री खड्काको घरमा पनि जलेको रकम भेटिएको बताइएको छ।
अनुसन्धानका लागि स्थानीय प्रशासनले देउवाको बुढानीलकण्ठस्थित भवन भत्काउन रोक लगाएको छ। जेनजी प्रदर्शनका क्रममा आगजनी भएको उक्त घर भत्काएर नयाँ संरचना बनाउने तयारी भइरहेका बेला जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनमा काम रोकिएको हो।
उक्त आगजनीपछि जलेको अवस्थामा स्वदेशी तथा विदेशी मुद्राको भीडियो समाजिक संजालमा फैलिएको थियो। सो रकम त्यतिबेला नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सङ्कलन गरेर सुरक्षित राखेको बताइएको छ।
यसैबीच सरकारले २०४८ सालदेखि राजनीतिक नेतृत्व र उच्च पदाधिकारीहरुको सम्पत्ति छानबिन गर्न प्रधानमन्त्री कार्यालयअन्तर्गत अधिकार सम्पन्न समिति गठन गर्ने निर्णय गरेको छ। पहिलो चरणमा २०६२ सालसम्मका पदाधिकारी र दोस्रो चरणमा २०४८ देखि २०६२ सालसम्मका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने योजना सार्वजनिक गरिएको छ।

