


काठमाडौँ, चैत १८ गते। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट मार्गदर्शन तयार गरी सम्बन्धित सबै मन्त्रालयहरुलाई पठाएको छ। आगामी जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार यो तयारी गरिएको हो।
मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयका अनुसार, आगामी बजेटमा आर्थिक अनुशासन र खर्चमा मितव्ययितालाई विशेष प्राथमिकता दिइनेछ। तयारी पूरा भएका, छिट्टै ठेक्कामा जान सक्ने तथा प्रोजेक्ट बैंकमा सूचीकृत आयोजनाहरुलाई मात्र बजेटमा समावेश गर्ने व्यवस्था गरिएको छ।

उनका अनुसार मन्त्रालयहरुले बजेट प्रस्ताव गर्दा सतर्क र जिम्मेवार हुनुपर्नेछ। स्रोत अनुमान समितिले राजस्व र वैदेशिक सहयोगको आकलन गरी बजेटको स्रोत निर्धारण गरिसकेको र मन्त्रालयहरूलाई बजेट सीमा (सिलिङ) पनि पठाइसकिएको छ। गत वर्षको तुलनामा यस वर्ष कम सिलिङ प्रस्ताव गरिएको बताइएको छ।
यसैबीच, राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहेको स्रोत अनुमान समितिले विश्लेषणपछि प्रतिवेदन पेश गरेको र सोही अनुसार बजेट लेखन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

