


भैरहवा, १८ चैत । कुवेतमा विभिन्न कारणले फरक फरक समयमा मृत्यु भएका ९ जना नेपाली नागरिकको शव स्वदेश ल्याइएको छ ।
मध्यपूर्वमा द्वन्द्वका कारण कुवेतमा रोकिएका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने गरिएको व्यवस्थापनमा शव पनि स्वदेश पठाइएको हो ।

कुवेतस्थित नेपाली राजदूतावासको समन्वयमा ३ सय १८ जना नेपाली यात्रुहरुसहितको कुवेत एयरवेजको चार्टर विमान बुधवार साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए।
सोही विमानमा विभिन्न कारणले फरक फरक समयमा मृत्यु भएका ९ जना नेपाली नागरिकको शव ल्याइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक पुष्पराज मल्लले बताए । उनले ल्याइएका शव नौ जिल्लाका व्यक्तिहरुको रहेको बताए ।
उनका अनुसार, दाङ, उदयपुर, सल्यान, सिन्धुली, सिरहा, लम्जुङ, सिन्धुपाल्चोक, सुर्खेत र खोटाङका व्यक्तिहरुको शव रहेको छ । उक्त शवहरु सम्बन्धित परिवारको जिम्मा लगाइने उनको भनाई छ ।

