


काठमाडौं,१९ चैत। संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बिहीबार बस्दैछ। यद्यपी, सांसदहरुको सेवा–सुविधा भने चैत १२ गतेदेखि नै लागू भइसकेको छ।
संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेका अनुसार, प्रतिनिधिसभा सदस्यहरुले उपलब्ध गराएको बैंक खातामा चैत मसान्तभित्र पहिलो महिनाको सेवा–सुविधा रकम जम्मा गरिनेछ। पहिलो महिनामा उनीहरुले १८ दिनको मात्रै सुविधा पाउनेछन्। शपथ लिएको मिति चैत १२ बाट पदबहाली गणना गरिने र १३ गतेदेखि सेवा–सुविधा लागू भएको छ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार सांसदहरुले मासिक ५५ हजार २३० रुपैयाँ पारिश्रमिक पाउनेछन्। साथै, प्रत्येक महिना १ हजार रुपैयाँ विशेष भत्ता पनि प्रदान गरिन्छ।
यसका अतिरिक्त, प्रत्येक बैठकमा उपस्थित भएबापत प्रति बैठक १ हजार रुपैयाँ भत्ता छुट्टै पाइन्छ। सञ्चार सुविधाका लागि ३ हजार, आवासका लागि १८ हजार, फर्निचरका लागि १५ हजार, यातायातका लागि १ हजार तथा बिजुली र धाराका लागि २ हजार रुपैयाँ दिने व्यवस्था छ। काठमाडौं उपत्यका बाहिर जाँदा दैनिक २ हजार ५ सय रुपैयाँ भ्रमण भत्ता पनि उपलब्ध हुन्छ।
यात्राका क्रममा सांसदका लागि १० लाख रुपैयाँसम्मको बीमाको व्यवस्था छ। पदमा बहाल रहेको अवस्थामा मृत्यु भएमा परिवारलाई २ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिन्छ।
त्यस्तै, पदमै रहँदा अशक्त भएमा सम्बन्धित सदस्य वा उनका परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहायता दिने प्रावधान पनि ऐनमा उल्लेख छ।

