


दाङ,२२ चैत। लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ बजे बस्दैछ ।
प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक’ सभामा प्रस्तुत गर्नेछन्।

यसैगरी मुख्यमन्त्री चेतनारायण आचार्यले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५’ संशोधनका लागि प्रस्ताव राख्दै उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।
प्रदेश सभाको आजको बैठकको प्रारम्भमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्नेछन् ।
बैठक सुरु हुनु अघि प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समय लिएर आफ्नो धारणा राख्ने कार्यक्रम पनि रहेको छ।

