


काठमाडौं,२३ चैत। नेपालको २३ स्थानमा बर्ड फ्लू संक्रमण देखिएको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार, यस वर्ष पहिलोपटक चैत ६ गते मोरङको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकैसाथ दुई स्थानमा बर्ड फ्लू देखिएको थियो।
त्यसयता सुनसरीमा १२, मोरङमा ७, झापामा २, चितवन र काठमाडौंमा एक–एक स्थानमा संक्रमण पुष्टि भएको छ। संक्रमित क्षेत्रलाई नियन्त्रणमा लिई थप फैलावट हुन नदिइएको पनि उनले बताए।

संक्रमण देखिएका स्थानमा हालसम्म एक लाख चार हजारभन्दा बढी कुखुरा तथा हाँस नष्ट गरिएको उनको भनाई छ। काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेका कागमा समेत बर्ड फ्लू देखिएको थियो। संक्रमण फैलिएको सुनसरी, झापा र मोरङ जिल्लामा पशुपक्षी ओसारपसारमा प्रतिबन्ध लगाइएको छ।
‘बर्ड फ्लू देखिएको स्थानमा हामीले बर्डफ्लु क्षेत्र घोषणा गरेर आकस्मिक रोग अन्वेषण टोलीले ती पशुपक्षीलाई नष्ट गर्ने काम गरेको छ,’ उनले भने, ‘हामीले बर्ड फ्लू रोग नियन्त्रणमा गरेको कामबाट धेरै नमूनामा बर्ड फ्लूको सङ्क्रमण देखिएको छैन ।’

