


काठमाडौं,२३ चैत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन्।
सोमबार प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुसँग गरेको छलफलमा सहभागी पूर्वअर्थमन्त्रीसमेत रहेका उनले अन्तर्राष्ट्रिय उडान विस्तारका लागि आवश्यक हवाई मार्गबारे भारतसँग कूटनीतिक पहल गर्न ढिलाइ गर्न नहुने बताए ।

‘भैरहवा विमानस्थलमा श्रम डेस्क राखेर अन्तर्राष्ट्रिय उडान नियमित गरेर पर्यटन क्षेत्रमा सम्भावनाको ढोका खोल्न अब ढिला गर्नु हुँदैन’,उनले भने, ‘अन्तर्राष्ट्रिय हवाइ मार्गका लागि भारतसँग कूटनीतिक पहल गर्न सम्माननीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’
साथै, उनले आफू निर्वाचित रोल्पासहित लुम्बिनी प्रदेशका चालु आयोजनाहरुलाई तीव्रता दिनुका साथै केही नयाँ परियोजनालाई प्राथमिकतामा राखेर काम अघि बढाउन सुझाव दिए।

