


काठमाडौं,२५ चैत। सरकारले सार्वजनिक यातायातको भाडादर बढाउने निर्णय गरेको छ। इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकहरुलाई कारण देखाउँदै सरकारले नयाँ भाडादर निर्धारण गरेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ।

त्यस्तै मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ। यो निर्णयसँगै अब सर्वसाधारणले यात्रा गर्दा र सामान ढुवानी गर्दा बढेको नयाँ दर अनुसार शुल्क तिर्नुपर्नेछ ।
यातायात व्यवस्था विभागले भाडा समायोजनको स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव पठाएको थियो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले भाडावृद्धिको निर्णय सदर गरेसँगै विभागलाई अनुमति प्राप्त भएको छ। अब विभागले औपचारिक रुपमा सूचना निकालेर जानकारी गराउने बताइएको छ।
नयाँ भाडादर कार्यान्वयनमा आएसँगै सर्वसाधारणको दैनिक यात्रा र उपभोग्य वस्तुको मूल्यमा समेत प्रभाव पर्न सक्ने देखिएको छ।

