


भैरहवा,२७ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ स्थित पाठशाला प्रि–प्राइमरी विद्यालयले एक कार्यक्रमको आयोजना गरी आफ्नो प्रथम वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ।
कार्यक्रममा विद्यालयका बालबालिकाहरुले नृत्य, नाटक प्रस्तुति दिएका थिए। जसले अभिभावक र उपस्थित अतिथिहरुलाई निकै प्रभावित बनाएको थियो । विद्यालयले छोटो समयमै गुणस्तरीय शिक्षा प्रदान गर्दै बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान पुर्याएको भन्दै कार्यक्रममा सहभागीहरुले प्रशंसा गरे।

कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउनुका साथै बालबालिकाको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालयका निर्देशक विवेक पौडेलले बताए ।

विद्यालयको प्रधानाध्यापक सपना पौडेलले शिक्षा केवल समानतामा सीमित नभई असल चरित्र र राम्रो मानवता निर्माणसँग जोडिएको भन्दै सधैं मन र मस्तिष्क दुवैलाई स्पर्श गर्ने गुणस्तरीय शिक्षा प्रदान आफुहरुको लक्ष्य रहेको बताइन्।
‘हाम्रो विद्यालय केवल संख्यामा मात्र होइन, भावना र आत्मामा पनि बढ्दै गएको छ । हाम्रो लक्ष्य सधैं मन र मस्तिष्क दुवैलाई स्पर्श गर्ने गुणस्तरीय शिक्षा प्रदान गर्नु हो’, कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्,‘शिक्षा केवल समानतामा सीमित नभई असल चरित्र र राम्रो मानवता निर्माणसँग जोडिएको छ, र अभिभावकहरुको साथबिना यो सम्भव हुने थिएन ।’
त्यस्तै कार्यक्रमको प्रमुख अतिथी नेत्ररोग विशेषज्ञ रोसिजा रिजाल खनालले बालबालिकामा डिजिटल स्क्रिन (मोबाइल,टिभी,कम्प्युटर) को प्रयोग बढ्दो अवस्था रहेकोले निरन्तर डिजिटल स्क्रिनको प्रयोगका कारण आँखामा ‘मायोपिया’ समस्या हुने सक्ने बताइन्।
बालबालिकाहरुको स्क्रिन समय सीमित गरेर भित्री गतिविधी भन्दा बाहिरी गतिविधीमा संग्लन गराए ‘मायोपिया’को समस्या कम हुने उनले जनाइन्।

कार्यक्रममा अनुशासन, स्वच्छता, हाजिरी, शैक्षिक उत्कृष्टतालगायत विभिन्न विद्यामा साथै नाटक, नृत्य प्रस्तुती दिएका बालबालिकाहरुलाई मायाको चिनो, प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका निर्देशक विवेक पौडेल, प्रधानाध्यापक सपना पौडेल, प्रमुख अथिती नेत्ररोग विशेषज्ञ रोसिजा रिजाल खनाल, अनामिका बस्याल, रेजल ढकाल, अभिभावकहरु राकेश कुमार बरई, प्रतिभा रेग्मी, शिक्षक गरिमा श्रेष्ठ, लगायतले आ-आफ्नो भनाई राखेका थिए ।
सुमित खनालको संचालनमा सम्पन्न भएको कार्यक्रममा अतिथी निकेश श्रेष्ठ, माधवी गुरुङ्ग, अभिभावक, शिक्षक लगायतको उपस्थिती रहेको थियो।

